यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेसको अविजित यात्रा जारी, सुदूरपश्चिमको विजय रथमा ब्रेक, कर्णालीको लगातार तेस्रो हार
सुर्खेत, २६ जेठ ।
वीरेन्द्रनगरमा जारी १९ वर्षमुनिको महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा रोमाञ्चक मोड आएको छ। प्रतियोगिताका सुरुवाती तीन खेलमा लगातार जित हात पारेको सुदूरपश्चिम चौथो खेलमा पराजित भएको छ भने मधेस प्रदेशले आफ्नो अविजित यात्रालाई कायमै राख्दै तालिकाको शीर्ष स्थान कब्जा गरेको छ। अर्कोतर्फ, घरेलु टोली कर्णाली प्रदेशले भने लगातार तेस्रो हार ब्यहोर्नु परेको छ।

सुदूरपश्चिमको विजय यात्रामा गण्डकीको 'ब्रेक'
मंगलबार कालुङचोक मैदानमा भएको खेलमा गण्डकी प्रदेशसँग ४ विकेटले पराजित भएसँगै सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक लागेको हो। टस जितेर गण्डकीले सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको थियो। गण्डकीको धारिलो बलिङसामु सुदूरपश्चिम १९.५ ओभरमा मात्र ८७ रनमा अलआउट हुन पुग्यो।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न गण्डकीकी रचना चौधरीले उत्कृष्ट प्रदर्शन गरिन्। उनले ४ ओभरमा २ ओभर मेडन राख्दै मात्र ६ रन दिएर ५ विकेट लिइन् र 'प्लेयर अफ दि म्याच' घोषित भइन्। त्यस्तै, आयुष्मा चापागाईंले पनि ४ विकेट लिँदै सुदूरपश्चिमको ब्याटिङ ढाड भाँचिन्। सुदूरपश्चिमका लागि स्नेहा महरा र करुणा विष्टले समान १०–१० रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।

८८ रनको लक्ष्य पछ्याएको गण्डकीका लागि रचना चौधरीले २७ रन तथा ज्योत्सिना मरासिनी र सेरिना थापाले समान १७–१७ रनको योगदान दिँदै टोलीलाई जित दिलाए।
बागमतीमाथि मधेसको सानदार जित, तालिकाको शीर्ष स्थानमा

वीरेन्द्रनगर मैदानमा मंगलबार बिहान भएको खेलमा मधेस प्रदेशले बागमती प्रदेशलाई २९ रनले पराजित गरेको छ। टस जितेर बागमतीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको मधेसले निर्धारित ओभरमा ४ विकेट गुमाएर १४० रनको बलियो योगफल तयार पारेको थियो।
मधेसकी ओपनर सना परविनले सानदार ब्याटिङ लयलाई निरन्तरता दिँदै ६० बलमा ११ चौकाको मद्दतले ६८ रनको अर्धशतकीय पारी खेलिन्। त्यस्तै भूमि सिंह र एलिशा यादवले समान २१–२१ रन जोडे। बागमतीका काबिया रावल, सम्भाव्या ढकाल र कृष्मा गुरुङले १–१ विकेट लिए।

१४१ रनको लक्ष्य पछ्याएको बागमतीका लागि सेविकाकुमारी यादवले १८ र लक्ष्मीमाया रुम्बा लिम्बूले १४ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्। बागमतीलाई रोक्ने क्रममा मधेसकी प्रतिमा साहले ३ विकेट लिँदै 'प्लेयर अफ दि म्याच' बनिन्। यो जितसँगै ३ खेलमा तीनवटै जित निकाल्दै मधेस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
कर्णालीको निरन्तर हार, कोशी विजयी

मंगलबारै भएको अर्को खेलमा घरेलु टोली कर्णाली प्रदेश कोशी प्रदेशसँग २४ रनले पराजित भएको छ। कर्णालीको यो प्रतियोगितामा लगातार तेस्रो हार हो।
टस जितेर पहिले ब्याटिङ गरेको कोशीले ८ विकेटको क्षतिमा १२५ रन बनाएको थियो। कोशीका लागि प्रिन्सा रानामगरले ३०, टीका शाहले २७, प्रिया मल्लाहले १२ र पूर्णिमा राजबंशीले ११ रन जोडे।

१२६ रनको लक्ष्य पछ्याएको कर्णालीका लागि समीक्षा बीसीले २०, शिखा दुवाडीले १५, सोविका शाहीले १४, सोना चन्दले १२ र आयिश्मा गिरीले १० रन बनाए पनि टोली लक्ष्य भन्दा २४ रन पछि पर्यो। कर्णालीलाई रोक्न कोशीकी कृष्टिना धामीले ४, टीका शाहले ३ र बन्धना राजवंशीले २ विकेट लिए।

प्रतियोगिताको चौथो दिनको खेलहरू सकिँदासम्म मधेस प्रदेश शीर्ष स्थानमा उक्लिएको छ भने पराजित सुदूरपश्चिम दोस्रो स्थानमा झरेको छ।
सम्बन्धित खबर
ताजा खबर
मध्यपुर थिमिमा राष्ट्रिय शिक्षा दिवस भव्य रूपमा मनाइयो: उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
मन कुवाराको कष्टकर जीवन भोगाइ : अबको सहारा ह्विलचियर
मन कुवाराको कष्टकर जीवन भोगाइ : अबको सहारा ह्विलचियर
भक्तपुरमा 'हेरिटेज मार्केट-कल्चरल किचन' औद्योगिक व्यापार मेला सुरु